
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।। भगवद गीता यथारूप
अनुवाद
हे कृष्ण "यो मन चञ्चल छ, उच्छृङ्खल छ, अटेरी तथा अत्यन्त बलवान् छ । यसलाई वशमा गर्नु हावालाई तह लगाउनु जस्तै कठीन छ भन्ने मैले ठानेको छु ।"
तात्पर्य
मनलाई बुद्धिको अधीनमा रहने तत्व मानिए तापनि यो मन यति बलवान् र दुराग्रही छ, कहिलेकहीं यसले बुद्धिलाई पनि उल्लङ्घन गर्दछ । यो व्यावहारिक जगतमा मानिसलाई अनेक विरोधी तत्वहरूसँग सामना गर्नु परिरहेको हुन्छ । त्यसैले मनलाई वशमा राख्नु अत्यन्त कठिन हुनजान्छ । देखावटी रूपमा त मानिसले आफ्नो मित्र तथा शत्रुसँग मानसिक संतुलन कायम गर्न सक्ला तर अन्तिम रूपमा कुनै पनि संसारी पुरुषले यस्तो गर्न सक्दैन । किनभने यस्तो गर्नु वेगवान वायुलाई वशमा पार्नुभन्दा पनि कठिन कुरा हो । वैदिक साहित्य कठोपनिषद् (१. ३. ३–४) मा भनिएको छ –
आत्मानं रथिनं विद्धि शरीरं रथमेव च,
बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।
इन्द्रियाणि हयान्याहुर्विषयांस्तेषु गोचरान्,
आत्मेन्द्रियामनोयुक्तं भोक्तेत्याहुर्मनीषिणः ।।
“प्रत्येक जीवात्मा यो भौतिक शरीररूपी रथमा यात्री जस्तो बनेर बसेको छ, यसको सारथी (ड्राइभर) बुद्धि हो । मन यसको लगाम हो र इन्द्रियहरू यसका घोडा हुन् । मन र इन्द्रियहरूको संगतिमा रहेर आत्माले सुख वा दुःखको भोग गर्दछ । ठूला ठूला चिन्तकहरूको विचार यस्तै छ, हुन त बुद्धिको काम मनलाई निर्देशन दिनु हो तापनि अत्यन्त चर्को संक्रामक रोगले असल औषधिको प्रभावलाई नटेरै झैं यो अत्यन्त दुराग्रही र बलवान् मनले पनि बुद्धिलाई टेर्दैन । यस्तो प्रबल मनलाई योग अभ्यासद्वारा वशमा ल्याउन सकिन्छ तर अर्जुन जस्तो सांसारिक व्यक्तिलाई यस्तो अभ्यास गर्ने कार्य कहिल्यै पनि व्यावहारिक हुन सक्दैन भने आधुनिक युगका मानिसलाई झन् यो कसरी व्यावहारिक होला ? यहाँ प्रयोग भएको उपमा उपयुक्त छ । बगिरहेको हावालाई कसैले समात्न सक्दैन, त्यसमा पनि त्यो चुलबुले मनलाई रोक्न खोज्नु झनै कठिन कार्य हो । अतः मनलाई वशमा राख्ने सरलतम उपाय भनेकै पूर्ण दैन्य भावले हरेकृष्ण महामन्त्रको कीर्तन गर्नु हो भनेर भगवान् चैतन्यमहाप्रभुले उपदेश गर्नुभएको छ । सवै मनः कृष्ण पदारविन्दयोः यही नै यसको विधान हो अर्थात् मानिसले आफ्नो मनलाई पूर्णतया श्रीकृष्णमै लगाइराख्नुपर्छ अनि मात्र यो मनलाई विचलित पार्ने अरू क्रियाकलापहरू समाप्त हुनेछन् ।
।।
No comments
Post a Comment